काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित् उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् ।
उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि काँग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए । वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारेपनि निर्णयकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । नेपाली काँग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उहाँले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए ।
वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्ने भन्दै उनले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्ने बताए ।