काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समिक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ । शनिबार (आज) बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भिर ढंगले समिक्षा गर्न सही सूचनाको आवश्यक्ता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १÷१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो ।
५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्विनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भिर ढंगले छलफल गरिएको उनले बताए ।
उपमहासचिव तुलाधरले भने, ‘बैठक स्थानीय तह निर्वाचनको समग्र समिक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरुको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरु प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरुलाई पाँच दिन भित्र त्यसको गम्भिर समिक्षा हुने गरी आवश्यक सूचना संकलन गर्न खटाउने निर्णय गरिएको छ ।’
बैठकमा नेताहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।