काठमाडौं । सत्ता साझेदार दल नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन् । आज (आइतबार) आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए ।
बैठकमा प्रचण्डले गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको, कतिपय पार्टीमा विभाजनको खतरा देखिएको र यो आफ्नो पार्टीका लागि अवसर हुन सक्ने बताएको माओवादीका एक नेताले बताए। प्रचण्डले एमालेतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ। अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका नेताहरुका कारण पार्टी हारेको बताएका छन् भने अध्यक्षको आलोचना गरेकोमा नेता घनश्याम भुसाल कारबाहीमा परेका छन्।
स्थानीय निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिने, सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको हो।