काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री पदलाई लिएर लफडा सुरु भएको छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गएपछि आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेको बुझिएको छ ।
स्रोतका अनुसार भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राई, मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायतको टीम रहेको छ । उनीहरूले आजै छलफल गर्ने बताइएको छ ।
उल्लेखित नेता तथा सांसदहरू यसअघि पनि उपेन्द्र यादवले मन्त्री नबनाएको भन्दै बाबुराम भट्टराई पक्षतिर लागेका थिए । त्यतिबेला यादव पार्टीमा अल्पमतमा समेत परेका थिए । अहिले ती सबै मन्त्री बनाउन माग गर्दै मोर्चाबन्दीमा लागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेरको तयारी थालेका छन् । एकीकृत समाजवादीले हाल रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ भने जसपाले पनि मन्त्री हेरफेरको लागि छलफल थालेकै बेला पार्टीभित्र आन्तरिक समस्या देखिएको हो ।