काठमाडौं । गृहमन्त्री बालकृण खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न यस सम्बन्धी कानूनहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले वलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए ।
उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा वलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जिवन जिउनका लागि आवश्यक पर्ने कानूनी प्रावधानहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताए । उनले वलात्कारका घटनामा संलग्न पीडकलाई हदै सम्मको सजायको माग गरिने पनि उल्लेख गरे । उनले भने – ‘यस्तो सामुहिक वलात्कार, यौनहिंसा, वलात्कारले प्रश्रय नपाओस् । त्यसका लागि यो घटनामा सहभागि भएकाहरुलाई हदै सम्मको सजायको माग गरी त्यही अनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । माननीयज्यूहरुले भनेजस्तै यौन हिंसालाई कसरी दुरुत्साहन गर्ने, वलात्कार र सामुहिक वलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जिवन जिउनका लागि वातावरण तयार गर्नुपर्ने त्यसका लागि आवश्यक प¥यो भने अहिलेको कानूनी प्रावधानहरु छ । ति कानूनी प्रावधानहरुलाई पनि हामीले संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने आवाजहरु उठिरहेको छ । ति विचारहरुसँग म सकारात्मक धारणा राख्न चाहान्छु । नेपाल सरकारले पनि सम्बन्धित कानूनहरुलाई परिमार्जन गर्ने सन्दर्भमा हामी सकारात्मक छौँ । त्यसमा अगाडी बढ्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’
उनले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी युवतीमाथि ७ जना युवाहरुले सामुहिक वलात्कार गरेको घटनाको सम्बन्धमा आरोपीहरुलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुने बारेमा जानकारी दिइनुपर्ने बताए ।