जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् ।
‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ,’ बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’
उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।