दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई मंगलबार राती ११ बजे लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाउन दबाब आएपछि उनलाई बुटवल पठाइएको बताइएको छ । प्रहरीले भने कानुन सम्मत र प्रक्रिया पुर्याएर छोडेको बताएको छ ।
दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेपछि प्रहरीले विमलाकुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको थियो ।
राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ । पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।