काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित रतबहादुर खड्का (क. प्रताप) को २१ औँ स्मृति दिवस तथा दोलखाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए ।
एमालेले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य गरिरहेको समेत बताए । उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेकिरासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने समेत घोषणा गरे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न पनि आग्रह गरे ।
गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए । नेपालको समृद्धि र विकासको यात्रा पनि सहमति र सहकार्यबाट गर्ने उनको भनाई छ ।