काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी का लागि नेपाली सेनाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लेखेको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो तर बिहीबार नै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।
एसपीपीमा सहभागिताका लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारे उक्त पत्रमा उल्लेख गरिएको छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।