काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर वाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताएका छन् ।
उनले देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्नपनि निर्देशन दिए ।
उनले भने, ‘अहिले तपाईहरु सुनिरहनुभएको छ, यही मौका छोपेर वाह्य सेना उपस्थित गराउने खालका आदि इत्यादि गर्न खोजिएको छ । त्यसको सम्बन्धमा पार्टीले बोलिरहेको छ । हाम्रा सांसदहरु संसदमा बोलिरहनुभएको छ । जनतमा यसखालको जागरण आइरहेको छ । हाम्रो पार्टीले त्यसको बिरुद्धमा अगुवाई गरिरहेको छ ।
देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा हामी सजग छौँ । अब आउँदो निर्वाचन महासंग्रामको रुपमा हाम्रो अघि उपस्थित हुँदैछ । त्यसको तयारीमा हामी जानेछौँ ।’