काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा, सुविधाहरु उपभोग गरेर पार्टीको कसरी अपमान, बेइज्ज्त गरिरहेको बताए । केही समयअघि नेता भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिएका थिए । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागिपरेको बताए । अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसावकिताव समयक्रममा हुने चेतावनी दिए ।
उनले भने, ‘अहिले पनि देखिरहनुभएको छ, कतिपय व्यक्तिहरु पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा, सुविधाहरु उपभोग गरिरहेका छन् । त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान, बेइज्ज्त, कसरी बिरोध हुन्छ ? त्यही काम पनि गरिरहेका छन् । पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, बिस्थापित गर्न सकिन्छ, धाँदलीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ, ती कामहरु पार्टीभित्र बसेर गरिरहेका छन् । यसको समयक्रममा समयले त्यसको हिसावकिताव गर्नेछ । त्यसमा धेरै चिन्ता नगरौँ ।’