काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले काम कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा सिंहले विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन दिदै काम कारवाही लाई थप प्रभावकारी बनाउन भनेका हुन् ।
आधुनिक प्रविधि, नवीन सीप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने उनले बताए ।
आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने सिहंको भनाई छ । उनले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनीयता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई सचेत गराएका थिए ।
सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन÷नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न पनि निर्देशन दिए ।
कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बिसी र मानवस्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ–आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे जानकारी गराएका थिए ।