धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा तत्काल स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन्। उनले तत्कालै विधेयक ल्याएर प्रतिष्ठानको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमबासीको चाहाना र माग अनुसार गेटामा भौतिकरूपमा निर्माण सम्पन्न भएको प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताका हुन्। उनले भने, ‘गेटाका बारेमा काम त अगाडि बढाई नै रहेका थियौँ, सबै सुदूरपश्चिमेलीको चाहाना अनुसार चाँडै प्रतिष्ठान बनाउँछौँ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि आफू प्रयासरत रहेको बताए। उनले भने,‘देश संघियतामा मात्र होईन विकेन्द्रीकरणमा पनि गैसकेको छ, अब तिनै तहका सरकार मिलेर विकास गर्नुपर्छ।’ उनले संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढे धेरै कुरा गर्न सकिने बताए।