काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।
‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’
त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको उनले दाबी गरे । यस विषयमा आज शनिबार बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए ।
प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालले बताए ।