काठमाडौं । अन्तराष्ट्रिय सम्बन्ध समितीको बैठक छलेर प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठकमा सामेल हुने भएका छन् । सत्ता गठबन्धनको बैठक केहीबेरमा बस्दैछ ।
माओवादी केन्द्रका कर्मचारीको एक कार्यक्रममा पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक केहीबेरमा बस्न लागेको बताएको हुन् । उनी गठबन्धन बैठक भन्दै कार्यक्रमबाट निस्किएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।
यसअघि बजेट र विदेशी नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।