काठमाडौं । नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्यको खोजि गर्नुपर्ने बताएका छन् । आईतवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद पोखरेलले अमेरिकी प्रश्ताव स्टेट पार्टनरसिप प्रोग्रामको सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्यको खोजि गर्नुपर्ने बताएका हुन् ।
उनले यस सम्बन्धमा सरोकारवाला निकायहरुका बीचमा भएका पत्राचारहरुले सत्यतथ्य बुझ्न सघाउने बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई गरेको निर्देशन अनुरुप सबै पत्राचारहरु समितिलाई दिइनुपर्ने र आफूहरुले सही जानकारी पाउनुपर्ने माग गरे । उनले एसपीपीको सम्बन्धमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने बताए ।
उनले भने – ‘यसबीचमा भएका जतिपनि पत्राचार छन् ,चाहे जंगी अड्डाले रक्षा मन्त्रालयलाई पठाएको पत्र होस् । वा रक्षा मन्त्रालयले बिस दिनपछि जंगी अड्डालाई पठाएको निर्देशन पत्र होस् । वा त्यो पहिलो पटक नेपाली सेनाका प्रधानसेनापतिले त्यसबेला अमेरिकी राजदूतलाई पठाएको पत्र होस् र अमेरिकाले बेखबर भएर रेस्पोन्स गरेको के के चिज छ त्यो कुरा होस् । यो सँगसँगै आइपपिएस २०१९ को रिपोर्टमा के कुरा उल्लेख गरेको छ, नेपालको बारेमा कसरी त्यहाँ उल्लेख गरेको छ त्योसहित समग्र कुराहरु हामीलाई पठाउ भनेर निर्णय हामीले गरेका छौँ । ती सबै चिज हामीले लिनुपर्छ र सही जानकारी प्राप्त गर्नुपर्छ । मैले यो सरकार, त्यो सरकार भनिनँ । कुनैपनि सरकारले समितिले गरेको यो निर्णयलाई, निर्देशनलाई उसले पालना गर्नुपर्छ । सबै चिजहरु पठाउनु पर्छ । यहाँ जित र हारको मानसिकताबाट मुक्त भएर तथ्यहरुको खोजि गर्ने हिसावले आगाडी बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’