
काठमाडौं । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रश्तुत बजेट मन्त्रीपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ । गण्डकी प्रदेश सरकारका अन्य मन्त्रीहरुले प्रदेश संसदमा प्रश्तुत बजेटमा प्रदेश सरकारले पास गरेको बजेटलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नसमेटेको भन्दै असार ५ गतेका लागि बस्ने भनेको संसद बैठक बस्न नसकेको हो ।
मन्त्रीपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तागठबन्धनमा तिक्ताता शुरु भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री बरालले संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम कार्यक्रममा बोल्दै आफूले मन्त्री परिषद् र नीति तथा कार्यक्रममा आएका योजनालाई समेटेर नै बजेट ल्याएको दाबी गरे । उनले आगामी आव २०७९/०८० को लागि प्रश्तुत नीति तथा कार्यक्रममा समेत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकाले बजेटमा नराखिएको बताए । संसदमा बजेट प्रश्तुतपछि अन्य मन्त्रीहरुले मुख्य मन्त्रीको निर्देशन समेत पालना नगरेको आरोपप्रति खण्डन गर्दै आफूले कानूनानुसार नै बजेट ल्याएको बताए ।
मन्त्री बरालले बजेटमा अंक र योजनाहरु संसदमा पेस नभएसम्म गोप्य रहने भएकाले बजेट प्रश्तुतपछि सबै बाहिर ल्याएको बताए । उनले बजेटमा अंक तलमाथि भएपनि बजेटमा नीति तथा कार्यक्रममा परेका सबै विषयहरु आएको बताए । बाहिर आएका हल्लाहरु सबै भ्रमपूर्ण रहेको मन्त्री बरालको भनाई छ । उनले प्रदेश सरकारका कुनै मन्त्रीहरुलाई मुख्यमन्त्रीदेखि सबै मन्त्रालय आफैँ चलाउने र बजेट आफू नभए नबन्ने सोचेपनि त्यस्तो नहुने बताए । उनले अन्य मन्त्रालयलाई आँखा लगाउनु गलत भएको भन्दै मन्त्रीहरुले आफ्नो मन्त्रालय ठिक रुपमा चलाउनु मुख्य काम भएको बताए ।
उनले,‘ गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रम थिएन । नीति र कार्यक्रम भन्दा बाहिरका विषय वस्तुहरुलाई बजेटमा सम्बोधन गर्नैपर्छ भन्ने हुँदैन । मुख्यमन्त्रीको निर्देशन थियो । अर्थमन्त्रीले निर्देशन पालना गरिनस् भन्ने कुराहरु आएका छन् । मन्त्रीपरिषद्मा विभिन्न विषयमा छलफल हुनसक्छ । एजेण्डा के थियो भन्ने विषय हो । बजेट बाहिर देखाउन सक्ने स्थिति हुँदैन । बजेटका अंकहरु गोप्य राख्नुपर्छ । बजेटमा नीति तथा कार्यक्रममा परेका कुराहरु सबै आएका छन्् । अंक तलमाथि हुनसक्छ । अहिले बाहिर जे ढङ्गले बाहिर आएको छ । त्यो भ्रम पार्नको निम्ति ल्याइएको छ । कुनैकुनै मन्त्रीले के सोचेका हुन्छन् भन्दा बजेट म नभइ बन्दैन । कुनै मन्त्रीको सबै मन्त्रालय चलाउने चाहना होला । तर त्यसो गर्न पाइँदैन । कुनै मुख्य मन्त्रीलाई सबै मन्त्रालय मैले नै ह्याण्डलिङ गर्ने हो । मुख्यमन्त्री नाम मात्रैको हो भन्ने ठानेका होलान् । त्यो गलत कुरा हो । अरु मन्त्रीले आफ्नो मन्त्रालय ठिक ढङ्गले चलाउने हो । अर्काको मन्त्रालयमा आँखा लगाउन पाइँदैन । आँखा लगाउन नपाएर कुनै मन्त्रीलाई डाहा भएको होला । तर डाहा गरेर हुँदैन ।’
गठबन्धनमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समेट्नुपर्नेमा अर्थमन्त्रीले ‘बद्मासी’ गरेको निस्कर्ष नै निकालेका छन् । गण्डकी प्रदेश सरकारले गत असार १ मा प्रश्तुत ३६ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend