
काठमाडौं । मंगलबार काठमाडौंमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।
उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको छ– ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’
यसअघि स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend