logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • भरतपुर महानगर ६ अर्बको बजेट ल्याउने तयारीमा

    भरतपुर महानगर ६ अर्बको बजेट ल्याउने तयारीमा

    5K
    Shares

    भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९ ८० का लागि करीब छ अर्ब बराबरको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ ।

    चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बजेट निर्माण कार्य अन्तिम तयारीमा रहेको बताए ।

    बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकहरूसँग छलफल र सुझावसमेत लिएको थियो । छलफलमा पूर्वप्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका विशिष्ठ अधिकारीहरू पनि सहभागी थिए ।

    महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा जोड दिइएको बताईन् ।

    गत पाँच वर्ष भौतिक पूर्वाधार अन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधार अन्तर्गत ढलमा बढी जोड दिन लागेको उनको भनाई छ । उनका अनुसार महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारिएको छ भने खाल्डाखुल्डी सडकलाई मर्मतसम्भार कार्यलाई प्रथामिकता दिन लागिएको छ ।

    बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ ।

    महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको छ ।

    उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आम्दानी बढोत्तरी गर्न कर शिक्षा, कर सचेतना जस्ता कार्यक्रममा टोल सुधार समितिहरूलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको बताए ।

    सहकारीलाई उत्पादन र बजारसँग जोड्न लागिएको छ । चालू आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य रु एक अर्ब २५ करोड रहेकामा आउँदो आर्थीक वर्षमा रु एक अर्ब ५० करोड पुर्याउने लक्ष्य राखिएको अधिकारीले बताए ।

    सङ्घ र प्रदेशको सशर्त बजेटसमेत थप भएकाले बजेटको सिलिङ बढेको अधिकारीले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend