logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह

    संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह

    3K
    Shares
    संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह

    काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

    उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडी बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरे । उनले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनुपर्नेमा जोड दिए । सांसद देवले नागरिकताको सवालमा असहमतीका विषयहरुलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने बताए ।

    उनले भने– ‘नागरिकता सम्बन्धी जे व्यवस्था गरिएको छ । त्यो राष्ट्रिय सहमतिबाट, क्रान्तिको उपजको रुपमा । परिवर्तन सम्झौँ दशवर्षे जनयुद्ध, मधेस आन्दोलन, थारु आन्दोलन, ०६२÷०६३ को महान जनआन्दोलन त्यसको संश्लेषणको रुपमा, निस्कर्षको रुपमा यो आएको छ । त्यसकारणले हामी यसबाट विमुख हुनुहुँदैन । आज म यही आग्रह गर्न चाहन्छु देशका प्रमुख राजनीतिक पार्टीहरुसँग । दुईवटा काम नगरौँ । यो संवेदनशील विषयमा हामी सहमतिबाटै अगाडी जाऔँ । दोस्रो कुरा के भने विशेष रुपमा म राज्य व्यवस्था समितिलाई आग्रह गर्न चाहन्छु, यसमा जे कुरा लेखिएको छ त्यसबाट बाझिनेगरी कुनै कानूनको मस्यौदा तयार नगर्नुस् । त्यसले देशलाई फेरि द्वन्द्वतिर धकेल्ने हुन्छ । दुस्साहस, मूर्खता हुन्छ त्यो । त्यसकारणले यो हाम्रो आधार हो । यो आधारमा चाँडोभन्दा चाँडो कानून बनाउनेतिर हामी अगाडी जानुपर्दछ । म भन्न चाहन्छु, चाँडोभन्दा चाँडो यही सदनबाट सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याओस् । जे–जेमा मिल्न सकिन्छ, केही कुराहरु वहशको कुरा होला । त्यो गर्दै जाऔँला । तर जे–जेमा मिल्न सकिन्छ, कसैलाई खुशी पार्नका लागि होइन, यो संविधानमा टेकेर जे–जे कुराहरुमा मिल्न सकिन्छ । तुरुन्तै ल्याउँ । र कुनै कुरामा मिल्न नसकिने अवस्था रहेछ भने छलफल गर्दै जाऔँ । भोलि फेरि एउटा सहमतिको वातावरण बनाऔँ भन्ने सैद्धान्तिक रुपमा म अपील गर्न चाहन्छु ।’

    सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरुलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए । उनले भने– ‘३ वटा मेजर कुरा छन् । जन्मसिद्धका नागरिकलाई नागरिकता दिने कुरा । आमाको नामबाट नागरिकता दिने कुरा । तेस्रो कुरा एनआरएनए सम्बन्धी, राजनीतिक अधिकार बाहेक अन्य अधिकारहरु दिने भन्ने सन्दर्भ । यो तीनवटा विषयको बारेमा चाँडोभन्दा चाँडो मस्यौदा सरकारले यही सदनमा पेस गरेर यसलाई सर्वसम्मतिबाट । राष्ट्रिय सुरक्षाको सवाल, परराष्ट्र नीतिको सवाल, जलस्रोतको सवाल र नागरिकताको सवाल । न हामी युके जस्तो हुनसक्छौँ । न अमेरिकाजस्तो हुन सक्छौँ । हाम्रो आफ्नो विशिष्ट नेपालको भूराजनीतिक अवस्था छ । हामीलाई जनताको समस्या समाधान पनि गर्नुछ । देशलाई बचाउनु पनि छ । देशलाई बचाउने नाममा जनतालाई भड्काउने, जनताको समस्या समाधान नगर्ने पनि हुन सक्दैन । तथाकथित रुपमा जनताको समस्या समाधान गर्ने सन्दर्भमा राष्ट्रलाई कमजोर गर्ने कुरापनि हुन सक्दैन । यो दुईवटाको बीचमा सन्तुलनको बिन्दु खोज्नुपर्छ । त्यो आधार संविधानले दिएको छ ।’

    उनले नेपाली राजनीतिमा कुनैपनि विषयमा निर्णय गर्दा अन्तिम अवस्थामा गर्ने संस्कार रहेको भन्दै कुनैपनि निर्णय समयमै गर्नुपर्ने संस्कार बनाउनुपर्ने बताए । उनले देशलाई कुनैपनि बहानामा वर्गीय, जातिय र लैङ्गिकरुपमा द्वन्द्वमा जान दिनु नहुने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend