काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबारे विशेष घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
गठबन्धन बैठकमा पेट्रोलियम पदार्थको मुल्य घटाउने बारे सहमति भएपछि आजै मध्यान्ह १२ः१५ बजे मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन गरी महत्त्वपूर्ण योजना घोषणा गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । बैठकले आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्न भनेको छ ।
गठबन्धनको निर्देशन सरकारले मानेमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म घट्ने देखिन्छ ।
शुक्रबारमात्रै संसदीय समितिले पनि कर घटाउन निर्देशन दिएको थियो । मन्त्री बडूले गठबन्धन र संसदीय समितिको निर्देशन अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको घोषणा गर्ने अनुमान गरिएको छ ।