काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा उम्मेदवार पठाउन सकेको भए करिव २० लाख मत पार्टीले पाउने बताएका छन् ।
पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीले देशका सबै ठाउँमा उम्मेदवार बनाउन नसकेको पनि स्वीकारेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको यो अवस्था देखिएको उनले बताए । ‘हामीले सबैठाउँ पार्टी बनाउन सकेका रैनछौं । पुर्याउन सकेका रैनछौं, र उम्मेदवारी दिनसकेका रैनछौं,’ उनले भने, ‘२७÷२८ प्रतिशत ठाउँमा मात्र उम्मेदवारी दिन सकेका रहेछौं ।’
सबै ठाउँमा उम्मेदवार उठाउन सकेको भए १९ २० लाख मत आफ्नो पार्टीले पाउन सक्ने देखिएको उनले बताए । ‘२७ २८ प्रतिशत उम्मेदवार उठाउँदा पनि ९ लाख पायौं भने सबै ठाउँमा उठाएको भए १९ २० लाख ल्याउनुभएको रहेछ,’ उनले भने ।
यद्यपी महानगर र उपमहानगरमा पनि आफ्नो पार्टीको उपस्थिती भएकाले गर्व गर्नुपर्ने उनले बताए ।