सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बाढीले पोखरा २५ का ३०० घर डुबानमा

बाढीले पोखरा २५ का ३०० घर डुबानमा

पोखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जामा ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर बाढी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले जानकारी दिए ।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय वासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए । ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याएको छ।’

शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए ।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ ।

अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिममा रहेका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने सो वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend