काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मुलुकको विकास, सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकअन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिनुहुँदै उनले राष्ट्रिय हितअनुसारको विकासमार्फत मुलुकलाई समुन्नत बनाउँदै अगाडि बढाउनु रहेको बताए ।
संवैधानिक निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने र संविधान कार्यान्यन गर्दै गराई थप संस्थागत गर्ने उद्देश्यअनुसार नै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयलाई थप व्यवस्थित बनाउन लागिएको उहाँले जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयबाटै मुलुकको द्रुत विकास गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उनले उल्लेख गरे ।
नीतिगत समन्वय र सहजीकरणमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काम गरिरहेको र त्यसको सबलीकरणमा सरकारले विशेष ध्यान दिएको, सरकारको नीति कार्यान्वयन गर्ने, अनुमगन गर्ने कामलाई तीव्ररूपमा अगाडि बढाइएको मन्त्री कार्कीले जानकारी दिए ।