काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे ।
उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् ।
अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्व चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताए । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गरे ।
उनले भने, ‘हामीले सरकार छोडेको मात्रै हिसाव गर्दा चामल कसरी आयात भयो ? कृषि प्रदान देश । ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्वका आयात गर्छौ चामल मात्रै । हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यो किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि । अस्ती प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’