
काठमाडौं । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरेको छ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो।
नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गरे। भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे।
यी एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75’आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा लिएको छ।
भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर् याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए।
यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रुपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्ने र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबीच रहेको अत्यन्त मजबुत विकास साझेदारीको एक हिस्साको रुपमा रहेको उनको भनाइ छ।
सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ ।
यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने नेपाल सरकारको प्रयासमा भारत सरकारको सहयोग गर्दै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend