काठमाडौं । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उपचारको लागि मोडेल अस्पतालले २ असारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्यो ।
अस्पतालका कन्सल्टयान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार अस्पताल आइपुग्दा उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो’ डा. चालिसेले भने,’ आईसीयूमा राखेर थप उपचार सुरु गर्यौं ।’
डा. चालिसेको टिम दिदीबहिनीको उपचारमा जुट्यो र १० दिनको बसाइमा निको भएर घर फर्काए । आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले उनीहरुको निःशुल्क उपचार गर्यो ।
काठमाडौं उपत्यकामा विभिन्न १५ स्थानमा अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । गम्भीर किसिमको झाडापखाला भएर अस्पताल भर्ना हुने बिरामीको चाप बढ्दो क्रममा छ ।
टेकु अस्पतालका सुचना अधिकारी नवराज गौतमका अनुसार हाल दैनिक १५ जनाभन्दा बढी झाडापखलाका बिरामी अस्पताल पुग्छन् ।
स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिर्फम देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।
संक्रमितले प्रयोग गरेका पानी नै प्रदूषित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.चुमनलाल दास बताउँछन् ।
पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले काठमाडौं उपत्यकामा स्तरमा संक्रमण फैलिरहको भएको पुष्टि हुन्छ ।
हैजा अर्थात कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सामान्यतया झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् ।
इडिसिडीका अनुसार बागबजार र कालीमाटी क्षेत्रमा दुई दुई जना हैजाका बिरामी देखिएका छन् । त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी खसीबजार , कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक एक जनामा हैजा देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार हैजा देखिएकामध्ये १२ बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने पाँच जना विभिन्न अस्पतालमा उपचारत छन् ।
त्यसैगरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल प्रवक्ता प्रकाश राई पनि वितरण भइहरेको पानीको गुणस्तर परीक्षण भइरहेको बताउँछन् । स्वास्थ्य कार्यलय काठमाडौंले हैजा संक्रमित स्रोत पहिचान गर्न एउटा टोली नै खटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ ।
हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा.समीरकुमार अधिकारी सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गर्छन् ।
मन्त्रालयले विपद्का घटना र महामारीलगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, शय्याहरूको व्यवस्थापन गर्न, औषधि उपकरणहरूको तयारी गर्न, अस्पताललाई निर्देशन दिएको छ ।
विज्ञहरु खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा , ज्यादै तिर्खाएमा, ज्वरो आएमा वा धेरै पटक पातलो दिसा गरेरमा तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्ने सुझाव दिन्छन् ।