काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौतामा आफू संलग्न भएको पुष्टि गर्न चुनौती दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी ओलीले अगाडि बढाएको आरोप लगाएपछि आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
सोमबारकोे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपिपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ। मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन। तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रूपमा एसपिपीका सम्बन्धमा निर्णय गरेको हो।’
आफू नेतृत्वको सरकारकै पालामा एसपिपी आएको र आफूहरूले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरे।
एसपिपी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला रक्षामन्त्रीसमेत भएका बेलामा रक्षा मन्त्रालयको निर्णय अनुसार नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्राचार गरेको र आफू प्रधानमन्त्री भएपनि त्यसबारे थाहै नदिएको पनि पटक पटक दोहोर्याए।