काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नेकपा (एमाले) को बटमलाइन भएको बताएका हुन् ।
उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरुलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले भने– ‘अर्थमन्त्रीको नियत खराब छ भन्नेकुरा प्रष्ट देखिन्छ । उहाँले यसमा अपराध गर्नुभएको छ भन्नेकुरा प्रष्ट देखिन्छ । त्यसकारणले उहाँमाथि नै छानबिन गर्नका लागि सर्वदलीय संसदीय छानबिन समिति हामीले भनेका छौँ नम्बर एक । नम्बर दुई हाम्रो बटमलाइन अब अर्थमन्त्री पदमा रहन मिल्दैन कि त उहाँले राजीनामा गर्नुपर्छ । कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ । नम्बर तीन, सिसिटिभि फुटेज मेटाउने, सूचनालाई बेपत्ता गर्ने जतिपनि मानिसहरु छन् तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । यो सार्वजनिक पदमा बसेको मानिसले गम्भिर अपराध गरिसकेपछि केही कानूनहरु यसमा आकर्षित हुन्छन् । नेपालको मुलुकी अपराधसंहिता यसमा आकर्षित हुन्छ । साइबर कानून यसमा आकर्षित हुन्छ । सिसिटिभि फुटेजको व्यवस्थापन सम्बन्धीका निर्देशिकाहरु यसमा आकर्षित हुन्छन् । त्यसैले सार्वजनिक पदमा बसेर जुन अपराध गरिएको छ । त्यस हिसावले हेर्दाखेरी यो गम्भिर भ्रष्टाचार पनि हो । पदीय दुरुपयोग पनि हो । त्यस हिसावले अर्थमन्त्रीमाथि कारबाही चलाउनु पर्छ भन्ने हाम्रो भनाई छ । अर्थमन्त्रीको राजीनामा बटम लाइन हो ।’
सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।