काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् ।
उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाई छ । उनले भने– ‘सहमती भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतीवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडी बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ ।’
उनले संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाउनुभएको बताए ।