काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी सांसद दिलकुमारीले जनताका छोराछोरीले नागरिकता कहिले पाउँछन ? भनि सरकारसँग प्रश्न गरिन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुमारीले नेपालीका सन्तानले नेपालमा नागरिकता नपाउने दूर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य नगरे नेपालमा पनि जनताले नेतालाई लखेटने दिन आउने चेतावनी दिइन् ।
सांसद कुमारीले भनिन्, ‘नागरिकता विधेयक सदनमा कहिले पेश हुन्छ ? कहिले जनताका छोराछोरीले नागरिकता पाउँछन ? कस्तो दूभाग्र्य, आमाबुबा नेपाली नागरिक छोराछोरी गैर नेपाली कसरी हुन सक्छ ? सभामुख महोदय । सरकारबाट अर्को चुनावको घोषणा हुँदैछ । कुन मुखले नेताजीहरु मोट माग्न जानु हुन्छ जिल्लाहरुमा । श्रीलंकामा जनताले नेतालाई लखेटेको समाचार माध्याममा सुन्दैछु । स्थानीय तह निर्वाचनमा कृषिराज्यमन्त्रीलाई जनताले गाउँमा छिर्न दिएका छैनन् सभामुख महोदय । गठबन्धन सरकार किन बनेको छ ? जनतालाई न्याय दिनका लागि कि आत्महत्या गर्नका लागि ? जनताका छोराछोरीहरुले नागरिकता कहिले पाउँछ ? उनीहरु नेपालको नागरिक हो कि होईनन् ?’
सासंद कुमारीले जनतालाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारलाई पटकपटक सचेत गराइन् ।