
पोखरा । आफ्ना परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ बजेट छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरुलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ ।
प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढावा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो । अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्री सहित मन्त्री, नेताहरुको तस्वीर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए ।
‘सरकारले आफ्नो परिवारका सदस्यका नाममा सरकारी बजेट नै विनियोजन गरेर राज्यकोषको ढुरुपयोग भएको छ,’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने, ‘आफ्नो ट्रस्ट चलाउन सरकारी होइन जनताले नै दान दिन तयार छन् भनेर सिम्बोलिक विरोध गरेका हौं ।’
अनेरास्ववियुले ‘रु १ दान अभियान’ गण्डकीका ११ वटै जिल्लाबाट सुरु भएको जनाएको छ । सत्तारुढ दलले क्याबिनेटबाटै निर्णय गरेर ती शीर्षक फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पौडेलले बताए । अभियानको अन्तिम दिन दान बाकस खोल्ने र सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको अनेरास्ववियुले जनाएको छ ।
गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सत्तारुढ दलका नेताका आफन्तको नाममा करोडौं रुपैयाँ विनियोजन भएपछि अहिले चर्को आलोचना भइरहेको छ । प्रतिष्ठानका नाममा खुलेका नेताका आफन्तको नाममा राज्यकोषबाट ब्रह्मलुट भइरहेको भन्दै नागरिकस्तरबाट विरोध भइरहेको छ ।
व्यक्तिगत रुपमा खुलेका प्रतिष्ठान तथा कोषमा सरकारी बजेट बजेट विनियोजन गर्नेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस नेता अर्जुनप्रसाद जोशी, सीताकुमारी काफ्ले, जनमोर्चाकी प्रदेश सांसद पियारी थापालगायत छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस प्रदेश सभापति तथा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो आमाबुवाको नाममा खुलेको प्रतिष्ठानलाई, नेपाली कांग्रेस नेतृ तथा पर्वत कुश्माकी निर्वतमान उपमेयर सीताकुमारी काफ्लेले आफ्नो दिवंगत श्रीमानको नाममा र जनमोर्चा सांसद पियारी थापाले आफ्नो वैवाहिक जीवन सुरुबातको अवसरमा खडा गरेको कोषमा बजेट विनियोजन गरेका छन् ।
आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानमा राज्यकोषबाट बजेट विनियोजन भएको खुलेपछि जनस्तरबाट चर्को विरोध भइरहेको छ । यसबारे मुख्यमन्त्री पोखरेलको सचिवालयले आइतबार प्रेसविज्ञप्ति जारी गरी उनका बुवा स्वर्गीय गोवद्र्धन शर्माको नाममा छुटइएको बजेट फिर्ता गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् ।
सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो आमाबुवा पुननारायण–धनकुमारी श्रेष्ठ स्मृति प्रतिष्ठानको नाममा स्थापित प्रतिष्ठानलाई छुट्याइएको बजेट फिर्ता गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
वार्षिक बजेटमा छुटेका कार्यक्रम भन्दै गण्डकी प्रदेश सरकारले सेतो किताबमा मुख्यमन्त्री, मन्त्रीलगायत सत्तारुढ दलका नेताका आफन्तको नाममा बजेट विनियोजन भएको हो । सेतो किताबमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन भन्दै १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यसबाहेक प्रदेश सरकारले कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सेतो पुस्तकमा २७ करोड रुपैयाँका योजना समावेश छन् । सेतो पुस्तकको औचित्यबारे प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेले संसदमा जवाफ मागेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend