काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा अनाधिकृत व्याक्तिको घुसपेठमा अर्थमन्त्री मात्रै सामेल नरहेको बताएका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो बताएका हुन् ।
बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको ओलीले बताए । यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने समेत उनले संकेत गरे ।
यस्तै अध्यक्ष ओलीले सरकारले हतियार खरिद गर्न लागेको भनेर सञ्चारमाध्यममा आएको समाचारप्रति पनि चासो व्यक्त गरे । देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ,’ ओलीले भने ।