काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावले आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै बुधबार देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको एक वा दुई स्थानमा भने भारी वर्षाको आँकलन गरिएको छ ।
बिहीबार पनि सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिन धेरै जसो स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।