काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भविष्यका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागित हुने खु्िडकलो भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा मंगलवारबाट शुरु भएको १२ औं केन्द्रिय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले विद्यालय स्तरका खेलाडी भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी भएको बताएका हुन् ।
उनले आजका खेलाडीले पोखरामा हुने राष्ट्रिय खेलकुद र ओलम्पिकसम्मको यात्रा तय गर्ने गरेर तयारी गर्न आग्रह गरे । उद्घाटनको अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए । उनले खेलमा केही प्रदेशका खेलाडीहरु छुटेकोले प्रदेशले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । सबै प्रदेशले जिममेवारीपूर्वक सबै खेलमा सहभागी भएर खेलाडीप्रति न्याय गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले देशमा नेशनल युथ टुर्नामेण्ट अत्यावश्यक भएकोले अब नेशनल युथ टुर्नामेण्ट गर्ने तयारीमा रहेको उद्घोष गरे । उनले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गरे । उनले कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्नसके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
उद्घाटनका अवसरमा सहभागी पाँच प्रदेशका खेलाडीले मार्च पास गरेका थिए । प्रदेश १ र मधेश प्रदेशको सहभागी थिएनन् । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएकी थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथग्रहण गरेका थिए ।
प्रतियोगितामा विभिन्न ६ खेल समावेश छन् । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीवार सम्पन्न हुनेछ ।