काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाबिरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरुले चिनकाबिरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए ।
उनले विदेश विभाग प्रमुख जियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाबिरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताए । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चिनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । यो भ्रमणसँगै नेपाल र चीनबिचको आगामी सम्बन्ध अझ राम्रो हुने उहाँले उल्लेख गरे ।
उनले भने– ‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख भर्खरै नयाँ नियुक्त हुनुभएको छ । नयाँ नियुक्त भएपछि सबभन्दा पहिलो विदेश भ्रमण नेपालको गर्नुभयो । त्यसको अर्थ के हो भने चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्छ । र छिमेकसँगको सम्बन्धलाई राम्रो बनाउने उसको दृष्टिकोण छ । त्यो दृष्टिकोणको आधारमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख लिउले चार दिने नेपाल भ्रमण गर्नुभयो । र नेपालका सबैजसो मुख्य राजनीतिक पार्टीका नेताहरुसँग भेटघाट गर्नुभयो । र यी सबै पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीका सम्बन्धहरुलाई गहिरो बनाउन भुमिका खेल्नुभयो । र साथसाथै चीनका बीरुद्ध नेपालमा कसैले पनि नेपालको भूमिलाई प्रयोग गर्न नसकोस् । अहिलेको भूराजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीहरुले चीनका बिरुद्ध कुनै प्रकारले नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुराहरुमा चीनको चिन्ता छ । त्यो चिन्तालाई जाहेर गर्नको लागि पनि उहाँको भ्रमण भएको देखिन्छ । नेपालका सबैजसो पार्टीहरुले हामी एक चीन नीति लिन्छौँ र हामी नेपालको भू–भाग चीनका बिरुद्ध प्रयोग गर्न दिन्नौँ भन्ने कुराहरु जुन ढंगले सबैले भनेका छन् । यो कुराले नेपाल र चीनका बीचका सम्बन्धहरु आउने दिनमा राम्रो हुन्छन् भन्ने कुरा देखिन्छ ।’