काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाकी सांसद डा. विमला राई पौडेलले सभामुख अग्नीप्रसाद सापकोटाको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रियसभाबाट पठाइएको अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयकहरु समेत प्रतिनिधिसभामा वर्षौदेखि अड्काएर राखेको भन्दै सभामुख सापकोटाप्रति उनले असन्तुष्टि जनाइन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले सभामुख सापकोटा वर्षौदेखि थन्किएर बसेका विधेयकहरुलाई अघि बढाउनुको साटो मुद्धामामिलामा लागेको भन्दै आपत्ति समेत जनाइन् । उनले राष्ट्रियसभाले पारित गरेर पठाएका विधेयकहरु विषयगत समितिहरुमा छलफल गराएर अघि पारित गराउने काम सभामुख सापकोटा भएपनि त्यसप्रति उनि जिम्मेवार नभएको गुनासो समेत गरिन् । उनले सत्तारुढ गठबन्धन अड्किएर बसेको विधेयकहरु पारित समेत नगराई संसद अधिवेशन अन्त्य गरेर संघ र प्रदेशको निर्वाचनमा जाने तयारीमा रहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
सांसद पौडेलले भनिन्, ‘अहिले हामीले राष्ट्रियसभाबाट पारित गरेर पठाएका करिव १२ वटा विधेयक प्रतिनिधिसभामा अड्किएको छ । ती १२ वटा विधेयक अत्यन्त महत्वपूर्ण छन । ज्येष्ठ नागरिक ऐनको संशोधन छ । इन्जिनियरिङ परिषद विधेयक छ । मिडिया काउन्सिल विधेयक छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात सम्बन्धि विल छ । नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धि विल छ । २०७५ सालदेखि पठाइएका यी बिलहरु अहिलेसम्म पनि प्रतिनिधिसभाले हामीलाई पठाएको छैन । यो एउटा प्रावधान छ रे । हामीले प्रतिनिधिसभाले पठाएको बिल चाँही हामीले दुई महिना भित्र केही गरेनौं भने उहाँहरु अघि बढन पाउने । तर हामीले पठाएको विलचाँही उहाँहरुले वर्षौसम्म केही नगर्दा पनि थन्क्याएर राख्ने । सभामुखज्यू के गर्दै हुनुहुन्छ ? यो सभामुखज्यूको काम होइन ? राष्ट्रियसभाबाट गएका विलहरुलाई समितिहरुमा पठाएर त्यहाँ छलफल गराएर यहाँ फिर्ता पठाउने यो दायित्व हो कि होइन उहाँको ? कि उहाँचाँही अझै पनि मुद्धामामिला गर्ने भनेर कसेको, कसको विरुद्धमा मुद्धा लड्ने भनेर सर्वोच्च धाईरहनु भएको छ । गर्दै के हुनुहुन्छ सभामुखज्यूले ? मैले म ग्लानी भए । हिजो पत्रकारले साध्दा म ग्लानी भए । यो १२ वटा विलहरु हामीले छलफल गरेर निकाल्दाखेरी करिव पाँच करोड खर्च भएको छ भन्ने मैले बुझेको छु । ५० वटा विधेयक अहिले प्रतिनिधिसभामा अडकिएर बसेका छन । त्यसमा कति खर्च भएको होला ? अनि अव सुन्दैछु–सत्तारुढ गठबन्धन दलहरुबीच छलफल भएर टुंगिसक्यो रे । ३० गते पछाडि हाउस चल्दैन रे । बन्द हुन्छ रे । अनि, चुनावमा जाने रे । उहाँहरुलाई त के छ र ? यत्रो राज्यकोषको खर्च भएको विल अलपत्र बनाउने ? त्यो विधेयकहरुमा छलफल गर्नु पर्दैन ? पारित गर्नुपर्दैन ? चुनावमा जानु अघि ती सबै विधेयकहरु पास गरेर जानु पर्दैन हामीले ? नत्र हामीले खाएको तलव कहाँबाट पचाउने हो ? यो प्रश्नले मलाई एकदमै धेरै ग्लानी भएको छ । यो ग्लानी प्रतिनिधिसभाका सभामुखको कानमा पुगोस् भनेर मैले यहाँ उठाउन खोजेको हो र उठाउँदैछु ।’
सांसद पौडेलले संघीय संसदको दुवै सदनमा रहेका विधेयकहरु पारित गरेर मात्रै संसद अधिवेशन अन्त्य गर्नुपर्ने पनि बताइन् ।