काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रिय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् ।
उनले केन्द्रिय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए । सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । उनले आगामी दिनमा काँग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रिय सदस्यहरुले कुरा राखेको बताए ।
उनले भने, ‘सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका छन् । हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ । लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ । प्रश्नको जवाफ पनि खोज्नुपर्छ । केही समीक्षात्मक प्रश्नहरु उठेका छन् । आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरु छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु गर्नुभएको छ । भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ । गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ । कामकाजी बन्न सकिएको छैन ।’
सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।