logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पोखरा महानगरपालिका : मृतकको नाममा पनि भत्ता निकासा

    पोखरा महानगरपालिका : मृतकको नाममा पनि भत्ता निकासा

    3.5K
    Shares

    पोखरा । पोखरा महानगरपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा ११ लाख ६० हजार रुपैयाँ भत्ता निकासा गरेको पाईएको छ । महानगर आफैँले मृत्यु दर्ता गरी लगत कट्टा गरिसक्दा समेत मृतकका नाममा रकम निकासा गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभिन्न १० वडाका मृतकका नाममा निकासा भएको उक्त रकम फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्न प्रतिवेदनमार्फत निर्देशन दिइएको छ ।

    ‘सामाजिक सुरक्षा कार्यविधि, २०७७ को दफा १५ को २ मा भत्ता खाइपाई आएको कुनै व्यक्तिको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ’, प्रतिवेदनमा भनिएको छ, ‘पोखरा महानगरपालिकाले मृत्यु दर्ता तथा लगत कट्टापश्चात् १० वडाको लाभग्राहीको खातामा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको छ । बढी भुक्तानी भएको रकम फिर्ता गर्नुपर्दछ ।’

    यसबाहेक प्रतिवेदनमा निवर्तमान मेयर जिसीको निर्णयले गर्दा महानगरपालिकालाई तीन करोड ६३ लाख २४ हजार रुपैयाँ व्ययभार बढाएको उल्लेख छ । मेयर जिसीले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता १० प्रतिशत थपेर दिने उल्लेख गरेका थिए । स्थानीय सरकारले आफ्नो कोषबाट रकम थप दिन पाउँदैन । तर, मेयर जिसीले ०७४ जेठ १४ गते पदभार ग्रहण गर्दै दोस्रो निर्णयमा सामाजिक सुरक्षा भत्ता थप गर्ने निर्णय गराए ।

    वृद्धवृद्धाले संघीय सरकारबाट पाउने वृद्धभत्तामा २०० रुपैयाँ थपेर दिने निर्णय मात्र भएन, ६ करोड बजेट विनियोजन नै गरियो । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ को २ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि संघीय सरकारबाट प्राप्त भत्तामा स्थानीय सरकारले आफ्नो कोषबाट रकम थप गरी प्रदान गर्न नपाउने व्यवस्था छ ।

    ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ १५ को २ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुका लागि संघीय सरकारबाट प्राप्त भत्ता रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनै पनि रकम थप गरी प्रदान गर्न नसकिने व्यवस्था छ’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend