logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जानकी मन्दिरमा प्रयोग हुने मार्बल खरिदमा पनि अनियमितता

    जानकी मन्दिरमा प्रयोग हुने मार्बल खरिदमा पनि अनियमितता

    7.1K
    Shares

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ एकपछि अर्को अनियमितता प्रकरणमा मुछिदै गएको छ। पोखरी र मठमन्दिर सौन्दर्यीकरण जस्ता कार्यक्रमलाई समावेश गरिएको यो कार्यक्रम पछिल्लो समय जानकी मन्दिर सौन्दर्यीकरणमा भएको अनियमितता प्रकरणले चर्चामा छ। सौन्दर्यकरणका गर्न मार्बल खरिदका लागि २०७५ मंसिर १७ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी ६ करोड ७५ लाख ४६ हजार रूपैयाँको सम्झौता भयो।

    मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोग गर्न सुझाव दिए अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति भएको थियो। तर त्यसको सट्टा कम मूल्यका रंगीन मार्बलहरु प्रयोग गरि मँहगो पर्ने सेतो मार्बलको भुक्तानी गरिएको छ। रंगीन मार्बल ४ हजार र सेतो मार्बल ५ हजार ३ सय रूपैयाँ प्रति वर्गमिटरका दरले खरिद सम्झौता भएको थियो। सुरूको सम्झौतामा सेतो मार्बल १९४५.०८ वर्ग मिटर रहेकोमा तेस्रो बिलसम्म ६ हजार ५७६ वर्ग मिटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

    तर त्यसमा अधिकांश गुणस्तरहीन रंगीन मार्बल प्रयोग गरिएको ठहर गर्दै सेतोको ठाउँमा प्रयोग भएका रंगीन मार्बलको मूल्य घटाउँदा सम्झौता भन्दा ६० लाख २१ हजार रूपैयाँ बढी भुक्तानी गरिएको महालेखा परिक्षकको कार्याल्यको प्रतिवेदनमा उल्लेख छ। मार्बल बिछ्याउने काममा मात्रै आर्थिक वर्ष २०७७ ७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजारसहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ।

    मार्बल बिछ्याउने कार्यका लागि आर्थिक वर्ष ०७८ ०७९ मा पनि भुक्तानी गरिएको छ। तर मुख्यमन्त्री कार्यालयले सो भुक्तानीको विवरण उपलब्ध गराउन आलटाल गरिरहेको छ। मापदण्ड विपरित रंगीन मार्बल प्रयोग गरी गुणस्तरहीन मार्बल प्रयोग गरिएका कारण जानकी मन्दिर परिसरको दर्जनौ ठाउँमा चर्किएको छ।

    हुन त गुणस्तरहीन मार्बल बिछ्याउन थालिएको भन्दै सुरूमा स्थानीय विरोधमा पनि उत्रिएका थिए । कमसल मार्बल प्रयोग गरी भ्रष्टाचार गरिएको भन्दै स्थानीयको विरोधले केही दिन कामै रोकिएको थियो। त्यसपछि ठेकेदार खुशीलाल साह, स्वच्छता अभियानका संयोजक भगवान झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र विरोधमा उत्रिएका स्थानीयबीच पटक पटक छलफल भयो। छलफललका क्रममा ठेकेदार र स्वच्छता अभियानका संयोजक भगवान झाले मार्बल गुणस्तरीय रहेको दावी गरे।

    स्थानीले नपत्याएपछि मार्बल टेष्टका लागि काठमाडौंको ल्याबमा परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि काम अघि बढाउने सहमती भएको थियो । तर रिपोर्ट नआउँदै फेरि मार्बल ओछ्याउने काम सुरु भयो । चर्किएको धेरै ठाउँमा मर्मत सम्भार गरियो। तर गुणस्तरहीन मार्बल प्रयोगले चर्किने क्रम दिनानुदिन बढ्दो छ। त्यतिबेला विरोध प्रदर्शनको अगुवाइ गर्नेमध्येका एक स्थानीय सुशील कर्ण भन्छन्, ‘यहाँ थर्ड क्लासभन्दा पनि जर्जर फोर्थ क्लासको मार्बल ओछयाइएको छ।

    छलफलको क्रममा सबै सरकारी निकाय मिल्यो। परीक्षणपछि मात्र मार्बल ओछयाइने हामीलाई आश्वासन दिइयो तर नहुँदै धमाधम काम अघि बढाइएपछि आन्दोलन सुस्तायो।’ जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले पनि पटक पटक सौन्दर्यकरणमा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend