काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले उपसभामुखको पदभार ग्रहण गरेकी छन् । आईतवार राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराएका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताइन् । उनले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महशुस गरेको बताइन् । उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भुमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाइन् । उनले सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउन आफ्नो महत्वपूर्ण भुमिका हुने बताइन्
उनले भनिन्, ‘छोटो समय भएपनि जिम्मेवारीका साथ काम गर्नेछु । जिम्मेवारी बढेको महशुस गरेकी छु । संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भुमिका इमान्दारिताका साथ काम कारबाही अघि बढाउनेछु । सदनलाई पनि प्रभावकारी ढंगबाट अघि बढाउन ३÷४ महिना जतिको समय छ, त्यो समय अत्यन्त महत्वपूर्ण रहनेछ । त्यही अनुसार भुमिका निर्वाह गर्नेछु ।’
उपसभामुख भुसाल गत शुक्रवार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।