काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए ।
उनले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे । उनले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप लगाए । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उनले माग गरे । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गरे ।
उनले भने– ‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र ? यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहशबाट निस्कर्षमा पुग्ने पद्धती हो । बहशहरु हुन सक्छन् । विवादहरु हुन सक्छन् । छलफल हुन सक्छ । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि अनि पुलिस लगाएर शासन गर्ने कोशिस गरिन्छ ? पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको छ । गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने । अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ ? यसरी स्थापित हुन्छ भन्ने ठानेका छौँ ? र सधैँभर दिग्विजय हो यो ? अहिलेको गठबन्धनको यो दिग्विजय हो ? सधैँभरी यो चालु रहिरहने हो ? रहिरहन्छ भन्ने ठानिरहेका छौँ हामीले ? म गृहमन्त्री ज्यूले उहाँको भाई मेयर भएको ठाउँमा, उहाँको पुलिसले ज्यादती गरेको छ । म गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँले भन्नुपर्छ । कसरी जाने भनेर । त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन हामी हेर्छौं । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? त्यो सबै उहाँको भाई मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडी बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।’
उनले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गरे । लोकतन्त्रको मुल्य, मान्यता र संसदीय परम्परा अनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँको भनाई छ । प्रतिपक्ष दलबाट सभापति बनाउन उहाँले ध्यानाकर्षण गराए । उनले भने– ‘सार्वजनिक लेखा समितिको सभापतिको म तुरुन्त राजीनामाको माग गर्छु । मैले यो कुनै मैले एउटा विषय उठाउनको लागि उठाएको छैन । सार्वजनिक लेखा समितिको सभापति प्रतिनिधि सभाको, यो सुशासनको कुरा हो । भ्रष्टाचारमुक्त नेपाल बनाउने कुरा गर्छौ भने यो त्यो कुरा हो । जसले ढुकुटीको चाबी हातमा लिन्छ, उसैले हिसाव राख्ने । उसैले छानबिन गर्ने यस्तो हुन्छ ? लोकतन्त्रको मूल्यको कुरा हो यो ? अनि हामीले अपनाएको संसदीय मान्यताको कुरा हो यो ? जसले ढुकुटीको साँचो हातमा लिन्छ उसैले हिसाव राख्ने ? उसैले छानबिन गर्ने ? उसैले लेखापरीक्षण गर्ने यस्तो हुन्छ ? नेकपा(एमाले)लाई चाहिएको छैन । मैले एमालेलाई सार्वजनिक लेखा समितिको सभापति दिनुहोस् भनेर मैले अनुरोध गरेको छैन । तर प्रतिपक्षलाई दिने यो संसदीय परम्परा हो । यो लोकतन्त्रको मूल्य, मान्यता हो । त्यसकारणले राजीनामा दिनुस् । र प्रतिपक्षबाट सार्वजनिक लेखा समितिको सभापति बनाउनुस् भनेर म यसको ध्यानाकर्षण गराउन चाहन्छु गम्भिरतापूर्वक ।’
सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताए । उनले भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनी समेत दिए । उनले भने– ‘जुन मिटिङ बस्नुभयो र सामाजिक सञ्जालमा बाहिर जे सन्देश देशमा आएको छ, पदको बाँडफाँड त्यहाँ बसेर गरियो भन्ने कुरा छ । सत्ता गठबन्धन जोगाउने, कायम राख्ने अगाडी बढाउने र त्यसको साथमा पदको बाँडफाँड गरेर को राष्ट्रपति हुने ? को प्रधानमन्त्री हुने ? कति समय को बस्ने ? त्यसपछि को बस्ने भन्ने खालको कुरा गरियो भन्ने खालका कुरा आएको छ । यो नहोस् । यस्तो कुरा हिजो राणाकालमा हामीले सुन्यौँ । तर यस्तो नहोस् अबको नेपालमा । यो लोकतन्त्र, गणतन्त्र हामीले यसको लागि ल्याएको होइन । विदेशी भूमीमा गएर सिटको बाँडफाँड गर्ने । पदको लागि चाकडी गर्ने । हामीले भिख मागेर पद, पदासीन हुनुभन्दा भिखारी नै भएर सडकमा हिँड्नु मजा हुन्छ । यस्तो कुराको सन्देश अहिले देशमा गइराखेको छ । यो दुःखदायी कुरा हो । यसले देशको लोकतन्त्रलाई बलियो बनाउँदैन ।’
उनले नागरिकता सम्बन्धी विधेयक फाष्टट्रयाकमा पारित गरेर नागरिकता बिहीनहरुलाई नागरिकता दिलाउनुपर्ने बताए ।