logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाक्लिदै प्रचण्ड-बाबुरामको भेट, के बाबुराम माओवादीमा फर्किदैछन् ?

    बाक्लिदै प्रचण्ड-बाबुरामको भेट, के बाबुराम माओवादीमा फर्किदैछन् ?

    3.4K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालबाट कारबाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा डा.भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा भएको भेटघाटमा बाबुरामले सो प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

    सुरुमा माओवादीबाट छुट्टिएर नयाँ शक्तिमा गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् । नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो । बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको पोखरेलको भनाइ छ ।

    माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले जानकारी दिए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ । अध्यक्ष प्रचण्डका साथमा रहेका केही नेताले पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने भन्दै आइरहेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणी खनाल लगायतका नेताहरु पार्टीमा कम्युनिस्ट जोडिएकै हुनुपर्ने पक्षमा छन् । बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक भए पनि उनकै साथमा रहेका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ ।

    यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् । पार्टी एकता वा पार्टीमै आउन नसकेपछि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने प्रस्ताव बाबुराम भट्टराईले राख्दै आएका छन् । प्रचण्डले भने सबै कम्युनिस्ट एक ठाउँमा रहनु पर्छ भन्दै जसपाबाट कारबाही नहुँदै बाबुरामलाई माओवादी केन्द्रमै आउन आग्रह गरिसकेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend