logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभाको शुन्य समयः कुन सांसदले के भने ?

    प्रतिनिधि सभाको शुन्य समयः कुन सांसदले के भने ?

    2.6K
    Shares
    प्रतिनिधि सभाको शुन्य समयः कुन सांसदले के भने ?

     

    काठमाडौं । प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीवारको प्रतिनिधि सभको शुन्य समयमा पनि यस्तै माहोल देखियो । शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको पावन्दीमा रहेर विषयवस्तु प्रश्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनु प¥यो ।

    सांसदहरुले धेरै विषयवस्तु राख्न त खोजे तर कुनैपनि विषयलाई पूरा गर्न सकेनन् । शुन्य समयमा बोल्ने नेकपा एमालेका सांसद महेश बस्नेत, एमालेकै सांसद रामबीर मानन्धर, नेपाली काँग्रेसका राजेन्द्र केसी लगायतका अन्य सांसदहरु समयमै आफ्ना कुरा संसदसमक्ष राख्नबाट चुके । शुन्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्ने अवसर दिएका थिए ।

    तर सांसदहरुको विषय, प्रश्तुत गर्ने शैली शुन्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरले अपूरो वाक्य मात्रै बोल्न भ्याए । आधा विषयवस्तु बोल्दा नै उनीहरुको समय सकिएर माइकमा साउण्ड काटिएको थियो । संसदमा प्रभाव जमाएका सांसदहरु समेत संसदको शुन्य समयको परीक्षामा अनुत्तिर्ण रहे । बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने एमाले सांसद महेश बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो । सांसद बस्नेतले लामो विषयमा एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी सरकार पक्षका सांसदहरुले खोजिरहेको भन्दै विषयवस्तुमा प्रश्तुत भए । उनले सरकार पक्षका सांसदहरु एम अधिकारी खोज्ने तर सरकार विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने, परिवार लाद्नमा व्यस्त रहेको आरोप लगाए ।

    उनले नेता एस देउवा,माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन भन्दै प्रश्नसमेत गरे । सांसद बस्नेतले बजेटमा रातारात सेटिङ गरेर करका दरहरु हेरफेर गर्ने,सिसिटिभी फुटेजहरु मेटाउने, माओवादी नेता जे शर्माको खोजिगरेर कारबाही गर्नुपर्ने बताए । उनले अन्य धेरै अहिले बजारमा मल अभाव,विद्यालयमा पुस्तक अभाव,एमसीसी पास गर्ने परराष्ट्र मन्त्री, प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर कार्यकारी प्रधान न्यायाधीशलाई कारबाही गर्ने होइन र ? भन्दै प्रश्न गरे । उनले प्रहरी प्रसाशनमा पार्टीगत अन्तरविरोध भएको बताए । यसो भनिरहँदा समय सकिएको थियो । उहाँ समय सकिएर माइकमा साउण्ड नआएपछि मुसुक्क हाँस्दै आफ्नो आसनमा बस्नुभएको थियो ।

    त्यस्तै शुन्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उनले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । तर सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोईराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उनले यो वाक्यांश नै पूरा गर्न सकेनन् । उनि समय सकिएको समेत थाहा नपाएर सभामुख अग्निप्रसाद सापकोटाले अर्को सांसदलाई बोल्न दिँदा समेत आफ्ना कुरा राखिरहनु भएको दृश्य देख्न सकिन्छ ।

    लगत्तै बोल्ने सांसद मिना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सकेनन् । उनले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोग विहीन भएको विषयमा संसदमा विषय उठान गरेका थिए । सांसद सुब्बाले अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका मेसिन प्रयोग विहीन रहेको बताइन् । यत्तिकैमा उहाँको समय सकियो । उनले बोल्नुभएको पछिल्लो वाक्य पूरा नभएको दृश्य र अडियो सुन्न र देख्न सकिन्छ ।

    लगत्तै बोलेकी सांसद मैनाकुमारी भण्डारीले पनि एक मिनेटमा संसदमा कुरा राख्न सकेनन् । सांसद भण्डारीले गुल्मीका खोलामा आएको बाढीले घरजग्गा कटान गरेको विषय उठान गरेकी थिइन् । उनले त्यहाँका जनताले वर्षैपिछे भोग्नुपरेको समस्या समाधानको लागि पक्की पुल बनाइदिन सरकारसँग माग गरिन् । उनले सिंचाई मन्त्रीको ध्यानाकर्षण बोल्नुबाहेकका शब्द संसदमा रेकर्ड हुन सकेनन् । त्यत्तिकैमा उहाँको बोल्ने समय सकियो ।

    त्यसपछि शुन्य समयमा बोल्ने नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले पनि समयको ख्याल गरेर विषय प्रश्तुत गर्न सकेनन् । उनले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको र त्यसमा ५० प्रतिशत भन्दा बढी असारे विकास भएको बताए । सांसद केसीले विकाश निर्माणको काम अत्यन्त लजास्पद रुपमा भइरहेको टिप्पणी गरे । उनले समयमा नै विकास खर्च नहुने भएकाले अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताए । सांसद केसीले भूकम्पको अवस्थामा पनि यस्तो अवस्था देखिएको थिएन भन्ने शब्द बोल्दै गर्दा माइकको आवाज काटियो । वाक्य पूरा गर्ने उहाँको चाहना पनि पूरा हुन सकेन ।

    त्यसपछि बोल्ने सांसद राजेन्द्रप्रसाद गौतम पनि संसदको समयसीमाको परीक्षामा अनुत्तिर्ण भए । उनले असार २४ गते संखुवासभाको चैनपुर डुमकटामा भएको सडकमा ट्याक्टर दुर्घटनाको विषयमा बोलैका थिए । सांसद गौतमले दुर्घटनामा घाइतेहरुको उपचारको क्रममा मनकामना अस्पताल खाँदबारी भन्ने वाक्यांश पूर्ण गर्न नपाउँदै समय सकियो

    त्यस्तै सांसद राधाकुमारी ज्ञवाली पनि शुन्य समयको समयमा फेल भइन् । उनले किसानहरुलाई सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्नु नालायकी पन भएको बताइन् । सांसद ज्ञवालीले सरकारले मल उपलब्ध गराएर सहज बनाउन माग गरिन् । उनले सिंचाई नभएको कारण रोपेको धान समेत सुकेर किसानको नोक्सान भएको छ भन्न नपाउँदै समय सकिएको थियो ।

    शुन्य समयमा बोल्नुभएका सांसद रामवीर मान्नधरको अवस्था पनि माथिका सांसदको भन्दा फरक थिएन । उनले श्रीमानहरुले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनैपनि राम्रो काम नगरेको आरोप लगाए । उनले सरकारले गरेका कामको छानबिन गर्न धेरै संसदीय समिति बनेको तर काम नभएको भन्दै ती समितिलाई पनि छानबिन गर्ने संसदीय महासमिति गठन गर्नुपर्ने माग गरे । सांसद मान्नधरले गठन गरेकोे महासमितिले यस्तो निस्कर्ष निकालोस् भन्न नपाउँदै समय सकिएको थियो ।

    त्यस्तै सांसद रेखा कुमारीले पनि संसदीय समयको सीमामा बोल्न असिफल भइन् । उनले पनि आफ्नो सबै कुरा एक मिनेटको समयमा राख्न सकेनन् । यसरी बिहीवारको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्ने १० जना संसदहरुले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । सांसदहरु आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समय सीमामा धेरैपटक चुकेका छन् । यी आजको प्रतिनिधि सभाका प्रतिनिधिमुलक घटना मात्रै हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend