काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताएका छन् । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।
उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ । प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, भने अर्कोतिर मिथ्या भ्रामक सूचनाहरु फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ । पत्रकारिता क्षेत्र हिजो भन्दा आज झन संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । नागरिकलाई सूचना दिने कुरामा प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन अझ बढी उत्तरदायी भुमिका खेल्नुपर्ने आवश्यक्ता छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यक्ता हो । स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’