काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि काँग्रेसले एउटा विज्ञप्तीमार्फत निकाल्न नसकेको बताए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ । दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । उनले हानेका थिए थिएनन् आफ्नो ठाउँमा छ, हानेका थिएभने पनि परिवर्तनको लागि हानेका थिए । तर नेपाली काँग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन । नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन । म आज कसैको आलोचना गर्न चाहन्न तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थिति पनि देखिए जहाँ,आफ्नै पार्टीका आदरणीय नेताहरुलाई विधिवत फैसला सुनाएर फाँसीको सजाय दिएर मारियो । त्यसको बिरुद्ध एउटा वक्तव्यसमेत दिन सकेन । प्रतिक्रिया दिनसम्म सकेन । त्यो नेपाली काँग्रेसले गर्न नसकेको कुरा दुःख र शर्मनाक विषय हो ।’
अध्यक्ष ओलीले गिरिजाप्रसाद कोईराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गरे । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए ।