काठमाडौं । प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गको ड्राइभर टोल खण्डमा सडकको किनारामा राखिएको बुद्ध मूर्ति तोडफोड गरिएको भन्दै निन्दा र भत्र्सना गरिन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले सो कार्य आपत्तिजनक भएपनि प्रशासन मौन बसेको बताइन् । दोषीउपर कानूनी कारबाही गर्न उनले माग गरिन् ।
प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले राष्ट्रिय भूमि आयोगले काम, कारबाही सुस्त गरेको बताइन् । उनले जग्गाको नापी भइसकेको स्थानमा जग्गा धनि पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले मिर्गौला र क्यान्सर पीडितलाई मासिक पाँच हजार रुपैयाँ दिने प्रतिवद्धता कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।
प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीहरुको हालसम्म यथोचित पुनस्र्थापना नभएको भन्दै पुनस्र्थापना गर्न माग गरिन् । उनले सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्न माग गरिन् । उनले भनिन्– ‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया, कमलरीहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । यस अघिको सरकारले मुक्त कमैया र कमलरीको छोराछोरीहरुलाई पुनस्र्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ । मुक्त कमैया र मुक्त कमलरीहरुलाई यथोचित पुनस्र्थापनाको लागि माग गर्दछु । सरकार र मुक्त कमलरीहरुसँग भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गरोस् सरकारले भन्ने कुरा जोडदार माग गर्न चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले नेपाली काँग्रेसको नेतृत्वको सरकारले वि.सं.२०४८ सालमा नीजिकरण गरिएको उद्योग कस्तो अवस्थामा छ सो को संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य सत्य पहाडीले सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रसम्म जानुपर्ने अवस्था कतिपय ठाउँमा कठिन भएका कारण वडामै घुम्ती बैंकिङ सेवामार्फत दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य समिना हुसेनले मधेस प्रदेशमा महिला हिंसा र हत्याको घटना बढेको उल्लेख गर्दै अपराधी र दोषीलाई कानूनी कारबाही गर्न माग गरिन् ।
प्रतिनिधि सभा सदस्य हीरा गुरुङले दव्न्द्व पीडितको समस्या समाधान गर्न ठोस योजना ल्याउन सरकारसँग माग गरिन् । उनले राजनीतिक परिवर्तन गर्न भुमिका खेल्ने द्वन्द्व पीडितको मन नदुखाउन पनि आग्रह गरिन् ।