logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः अध्यक्ष दाहाल

    धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः अध्यक्ष दाहाल

    4.3K
    Shares
    धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

    उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए । उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताए । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकुल नभएको दाबी गरे ।

    अध्यक्ष दाहालले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए । उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको दाबी गरे ।

    अध्यक्ष दाहालले भने, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवि जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।

    आउने दलाल पुँजीपतिहरु आउने भए । नोकरसाह पुँजीपति आउने भए । भ्रष्टहरु आउने भए । त्यो खतरा दिनप्रतिदित बढ्दो छ । यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरु भित्र पनि छलफल पनि गर्न आवश्यक छ । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरिमा लैजान्छ । भड्खारोमा नै लैजान्छ । अनि हाम्रो अर्को सिस्टम पनि देशको अनुकुल छैन । शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकुल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने सांसद नभइ मन्त्री हुन पाइँदैन, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन् ।

    सांसद भएपछि मन्त्री हुनपनि चल्नुप¥यो अनेक खालका खेलहरु । मन्त्री भएपछि लगानी उठाउनुप¥यो । भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ । यसलाई हामीले रिजर्भ राखेका छौँ । माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ । हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend