काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेको बताए । मन्त्री बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवद्र्धधनमा जोड दिएको बताए । उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको बताए । बिजनेस इन्कुबेटर कन्फरेन्सको लागि सरकारले छुट्याएको बजेट प्राप्त भने नभएको स्वीकार गरे ।
उनले भने,‘सरकार केही काम गर्न चाहन्छ । अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता छ । मुलुकमा उद्योग र उद्यमीहरु बढीभन्दा बढी क्रियाशिल बनाउन जरुरी छ । जसले राष्ट्रिय उत्पादन बढाएर मुलुकमा समृद्धि बढ्न सकोस् । त्यसले मुलुकको विद्यमान व्यापारघाटा कम गर्न सकोस् । मुलुकले चाहेको त्यो छ । सरकारले पहिलो प्राथमिकताका साथ मुलुकको राष्ट्रिय उत्पादन र उद्यमीको संरक्षण गर्ने विषयमा सरकारको उद्देश्य छ । यो उद्देश्यलाई पूरा गर्नको लागि सरकारले बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर खोल्ने घोषणा गरेको छ । केही थोरै बजेट छुट्याएका छौं । त्यो प्राप्त हुँदैन । तर त्यो विचार कार्यक्रम हो । हामीले नयाँ प्रवद्र्धनकारी अनुसन्धानसँग जोड्ने पनि कार्यक्रम रहेको छ । अहिले हामीले त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्दैछौं ।’