काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरुले महिलाको पोषाक
लगाउने र महिलाहरुले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवताहरुलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरुको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् ।
यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् । महिलाहरुले पुरुषहरुको पोषाक लगाउने र पुरुषहरुले महिलाको पोषाक लगाएर आफ्नो छिमेकी गाँउमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरुले आफ्नो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारुले बताईन् ।
उनले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको उनको भनाई छ । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ फत्तिरेका फट्टु थारुले बताए । उनले आफ्नो थारु संस्कृति अनुसार गीत गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिए ।
यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।